शंकरनाथ रिमालः नानीबाबुसंग मनको कुरा, फोटोः अन्नपुर्ण दैनिक तपाईँलाई थाहा छ नेपालको राष्ट्रिय झण्डा कसले डिजाइन गरेको हो ? विश्वको...
शंकरनाथ रिमालः नानीबाबुसंग मनको कुरा, फोटोः अन्नपुर्ण दैनिक |
तपाईँलाई थाहा छ नेपालको राष्ट्रिय झण्डा कसले डिजाइन गरेको हो ? विश्वको एकमात्र त्रिकोणात्मक झण्डा डिजाइन गर्ने शंकरनाथ रिमाललाई 'अन्नपूर्ण अंकुर' ले खोजेको छ। नेपालको राष्ट्रिय झण्डाका डिजाइनर इन्जिनियर रिमालसँग सलोजा दाहालले गरेको कुराकानीमा आधारित सामग्रीः
काम आफ्नै लागि गर्ने हो। म कामप्रति जिम्मेवार हुन्छु। आफूलाई चित्त बुझेको काम अरूलाई पनि मन पर्छ भन्ने मलाई लाग्छ। त्यसैले आफूलाई मन पर्ने काम गर्छु। टेक्निक मिलाएर काम गर्दा मेहनत पनि धेरै गर्नु पर्दैन। काम पनि राम्रो हुन्छ। त्यसैले अहिलेसम्म मलाई मन परेको काम चित्त बुझ्दो बनाएर नै गर्ने गर्छु।
मेरो जन्म १९९१ सालमा काठमाडौंमा भएको हो। मेरो जिजुबुवा विष्णुनाथ शास्त्री निकै ठूला गुरु हुनुहुन्थ्यो। हजुरबुवा सरदार कविराज शिवनाथले पनि शास्त्री उत्तीर्ण गरी आयुर्वेद विषय पढ्नुभएको थियो। उहाँ राज कविराज हुनुहुन्थ्यो। तत्कालीन राजा त्रिभुवनको र तत्कालीन श्री ३ जुद्धशमशेरको दरबारमा गइरहनुहुन्थ्यो। जुद्धशमशेरको त विश्वास पात्र पनि हुनुहुन्थ्यो।
बुवा देवेन्द्रनाथ रिमालको टीबी रोगका कारण १८ वर्षकै उमेरमा मृत्यु भयो। त्यसबेला आमा सीतादेवी रिमाल जम्मा १६ वर्षकी हुनुहुन्थ्यो। मसहित माइलो गौरीनाथ र कान्छो दुर्गानाथ गरी तीनजना छोराहरू थियौं। बुवा नभए पनि हाम्रो सबै शिक्षादीक्षा हजुरबाले गर्नुभयो। कुनै कुराको अभाव थिएन।
त्यो दोस्रो बिश्वयुद्धको समय थियो। बाहुन र शासक बर्गका छोराछोरीले मात्र पढन पाउँथे। राज्यकोषबाट पढाई एवं अतिरिक्त कृयाकलापको सबै खर्च ब्यहोरिन्थ्यो।पढे वापत राणा शासकलाई सलामी चढाउनु पर्थ्यो।
त्यतिबेला जेठो सन्तानले अनिवार्य संस्कृत पढ्नु पर्थ्यो। म संस्कृत विषय पढ्न थालेँ। भाइहरू अंग्रेजी पढिरहेका थिए। त्यो दोस्रो विश्वयुद्धको समय थियो। के भएर हो, हजुरबाले मलाई पनि अंग्रेजी पढाउने निर्णय गर्नुभयो।
त्यति बेला सामान्य व्यक्तिका छोराछोरीले पढ्न पाउँदैनथे। राजाका नजिक भएर काम गर्नेका छोराछोरी र ब्राह्मणका छोराछोरीले मात्र पढ्न पाउँथे। हाम्रो परिवारमा अनिवार्य पढ्नुपर्थ्यो। म दरबार हाइस्कुलमा दुई कक्षामा भर्ना भएँ।
स्कुल फी लाग्दैनथ्यो। राम्रो पढ्नेलाई विद्यालयले नै किताब दिन्थ्यो। हामी तीनै भाइले कक्षा १० सम्मको पढाइ त्यहीँबाट पूरा गर्यौं। नेपालमै पढे पनि पटना विश्वविद्यालयबाट जाँच लिन्थ्यो। त्यस बेला कान्छो भाइ १३ वर्षको, माइलो १५ र म १६ वर्षको थिएँ। प्रवेशिका परीक्षा पास गरेपछि प्रधानमन्त्रीलाई दाम चढाउन जानुपर्ने नियम थियो। मोहनशमशेर र बबरशमशेरलाई उहाँहरूकै दरबारमा गएर दाम चढाएर स्वस्ती गरेका थियौं।
स्कुल पढ्दा गुच्चा, डन्डी बियो, पांग्रा घुमाउने, ब्याडमिन्टन खुब खेलिन्थ्यो। काठमाडौंको ठाउँठाउँमा मात्र घरहरू थिए, कतै पनि पर्खालहरू थिएनन्। एउटा बस्तीबाट अर्को बस्तीमा जाँदा खेतका आली आली हिँड्नु पर्थ्यो। नक्सालमा बस्ने हामीहरू खेल्नकै लागि महाराजगन्ज, लैनचौरसम्म पनि पुग्थ्यौं। टुकुचाको पानी खान्थ्यौं।
घरमा चाहिने सबै अन्न तथा तरकारी आफ्नै खेतबारीमा उब्जिन्थ्यो। गाई पाल्ने, खेतमा धान रोप्ने हुन्थ्यो। जग्गा कमाउनेले ल्याइदिएको अन्नले खान पुग्थ्यो। खाजाका रूपमा प्रायः दही, चिउरा, हलुवा र मालपुवा मात्र हुन्थ्यो। अहिलेको जस्तो किनेर खाने चलन थिएन।
वर्षमा जम्मा दुई जोर मात्र लुगा किन्ने गरिन्थ्यो। असोज र चैतको दसँैमा। त्यही लुगाले एक वर्ष पुर्याउनुपर्थ्यो। प्रवेशिका उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न चाहेमा विदेश नै जानुपर्ने हुन्थ्यो। त्यति बेला नेपाली विद्यार्थी सरकारी खर्चमा बाहेक निजी खर्च गरी विदेशमा पढ्न जान सक्दैनथे।
हामी सरकारी छात्रवृत्तिमा पढ्नका लागि भारत गयौं। कलकत्ता विश्वविद्यालयअन्तर्गत बंगाल इन्जिनियरिङ कलेजमा पढ्नका लागि हामीलाई २०० रुपैयाँ छात्रावृत्ति दिइएको थियो। बस्ने सुविधा थियो। ७० रुपैयाँ तिरेपछि मेसमा खाना खुवाउँथ्यो। थुप्रै पैसा बच्थ्यो। कलेजमा राम्रो पढेपछि गृहकार्य गर्नु पर्दैन भन्दै कलेजले कहिल्यै गृहकार्य दिँदैनथ्यो। बुधबार र शनिबार ‘हाफ डे’ छुट्टी हुन्थ्यो। कलेज सकिएपछि हामी प्रायः फिल्म हेर्न जान्थांै। त्यस बेला हिन्दी फिल्म बने पनि त्यति राम्रा थिएनन्। हामी अंग्रेजी फिल्म धेरै हेथ्र्यौं। इन्जिनियरिङ पढ्दा चार वर्षको अवधिमा पाँच सय फिल्म हेरेको छु। अहिले हलमा गएर होइन कोठामै बसेर टीभी हेर्छु।
इन्जिनियरिङको पढाइ सकेर २०१४ सालमा नेपाल फर्किएँ। फर्किनासाथ टुँडिखेलमा सदर निक्सारी अड्डामा काम सुरु गरेँ। कामप्रति सधैं इमानदार थिएँ। त्यस बेला नेपालमा इन्जिनियरको खाँचो पनि थियो। काम पाउन गाह्रो थिएन।
एक पटक इन्जिनियरिङ प्रदर्शनी थियो। तत्कालीन राजा महेन्द्र पनि प्रदर्शनी हेर्न आउनुभएको थियो। हाम्रो स्टलको ब्रिफिङ मैले गरेको थिएँ। उहाँलाई कसैले शिवनाथको नाति भनेर चिनायो। हिँड्ने बेलामा कानैमा आएर बोलाउँछु भन्नुभयो।
झण्डामा प्रयोग भएका चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतीक हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य झण्डाको तल्लो भागमा राखिएको छ।
प्रधानमन्त्री टंकप्रसाद आचार्य हुनुहुन्थ्यो। म त्यसैबेला सरकारी जागिरे भइसकेको थिएँ। त्यतिबेला सर्वोच्च अदालतको भवनको जग हाल्ने काम भइरहेको थियो। काम निरन्तर चलिरहेको थियो।
राजाले सहिद गेट बनाउने भएपछि त्यसको जिम्मा मलाई दिइयो। मैले डिजाइन गरेँ। मेरो डिजाइन मन परेछ। सहिद गेट बन्यो। २०१८ सालमा त्यसको उद्घाटन भयो।
२०१५ सालमा म तालिमका लागि जर्मनी उड्दा कांग्रेसले बहुमत पाएको दिन थियो। म जर्मनीमै हुँदा मेरो बढुवा भयो। २०१७ सालमा नेपाल फर्किएपछि निरन्तर काम गरेँ। २०१७ सालमा दरबारको पनि काम गर्नुपर्यो भनेर प्रस्ताव आएपछि त्यता पनि काम गर्न थालेँ।
२०१८ सालमा पहिलेका सरकारले गरेको बढुवा बदर भन्ने निर्णय भएपछि मेरो घटुवा भयो। नियमित काम गरिरहेको मान्छे घटुवा भएपछि अपमानित भएको महसुस भयो अनि तत्काल राजीनामा दिएँ। तर राजीनामा स्वीकृत भएन। नारायणहिटी दरबार बनिरहेको थियो, त्यसलाई पनि हेरेँ। नेपाल प्रज्ञाप्रतिष्ठान, राजा महेन्द्रका छोरीहरूको शान्ति कुञ्ज, शारदा सदन र शोभागृहको पनि डिजाइन गरेँ। नारायणहिटी दरबारभित्रका धेरै भवनको पनि डिजाइन गरेको छु।
अमृत साइन्स कलेज, सिंहदबारभित्र रहेको पहिलेको परराष्ट्र मन्त्रालयको भवन, देवघाटको सन्यास आ श्रम, लुम्बिनीको कल्चरल बिल्डिङ, पशुपतिको यज्ञशाला, नेपाल कला परिषद्, जनकपुर चुरोट कारखानालगायत धेरै भवन र मन्दिरको डिजाइन गरेको छु। अहिले पनि सकेसम्म काम गरिरहन्छु।
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि नेपालको झण्डाको विषयमा कुरा उठेछ। राजासम्म यो कुरा पुगेपछि अब झण्डालाई निश्चित आकार दिने निर्णय भएछ। ग्राफिक्स पनि जानेको अनि अरू डिजाइन पनि गरेको भनेर त्यसको डिजाइन गर्ने जिम्मा मलाई दिइयो। मैले झण्डाको विषयमा अध्ययन गरेँ।
पण्डित तथा गुरुहरूसँगको परामर्श र अध्ययनबाट यो झण्डा वैदिक कालदेखि नै भएको पत्ता लाग्यो। त्यतिबेला नेपालको झण्डालाई पौराणिक रूपमा बनाउनुपर्छ भन्ने लागेको थियो। झण्डामा रङको प्रयोग, आकार र झण्डामा राखिएका चिह्नहरू पनि शास्त्रकै नियमअनुसार प्रयोग भएका छन्।
त्यसैले झण्डाको आकार र रङ परिवर्तन गर्नेभन्दा पनि यसको निश्चित मापदण्ड बनाउनुपर्छ भन्ने लाग्यो। त्यसपछि झण्डामा सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सूर्यको सेतो आकार अंकित भएको झण्डाको निर्माण गरेँ। अनि बुझाए। त्यसपछि त्यो विषयमा कसैले केही कुरा गरेनन्।
नेपालको संविधान २०१९ मा मैले दिएको मापदण्डअनुसारकै झण्डा राष्ट्रिय झण्डा भनी उल्लेख गरेको देखेपछि मेरो डिजाइनलाई स्वीकार गरिएछ भन्ने थाहा भयो। त्यसपछिका सबै संविधानमा झण्डाको विषयलाई निरन्तर राखिएको छ। नेपालको संविधान २०७२ मा उल्लेख भएको झण्डा पनि २०१८ सालमा मैले डिजाइन गरेको त्यही झण्डा हो। यो बीचमा राज्यले मैले गरेको डिजाइनको झण्डालाई राष्ट्रिय झण्डा माने पनि खास्सै चर्चा हुने गरेको थिएन।
अहिले आएर सञ्चारमाध्यम र सरकारले समेत मेरो कामबारे चासो दिएको छ। यसमा प्रयोग भएका रङ र आकारको विषयमा खुब चर्चा र चासो हुने गर्छ। झण्डामा प्रयोग भएका चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतीक हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य झण्डाको तल्लो भागमा राखिएको छ। तर झण्डा मात्र होइन, मेरो डिजाइन सबै उत्तिकै मेहनतका साथ बनाएको छु। सबै राम्रा लाग्छन्। किनकि यी सबैमा मेरो उत्तिकै मेहनत छ।
अचेल काम गर्ने प्रविधिका कारण सजिलो भएको छ। कपी पेस्ट गर्ने प्रचलन बढेको छ। यसले मानिसलाई अलि कम रचनात्मक बनाउँछ। हुन त अहिलेका मानिस समाजभन्दा पनि कम्प्युटरमा व्यस्त भएको देखिन्छ। उनीहरू खेल्नेदेखि सबै काम कम्प्युटरबाटै गर्छन्। यसले व्यक्तिलाई सामाजिकीकरण हुनबाट रोक्छ। अझ विदेश जाने परम्परा बढेको छ, यसले दीर्घकालीन असर गर्छ। अर्काको भाषा संस्कृति सिकेर मात्र पुग्दैन, आफ्नो भाषामा अब्बल हुनुपर्छ। अपनत्व त आफ्नै भूमिमा पाइन्छ नि।
म अहिले पनि प्रायः बिहान ६ बजे उठ्छु। कसरत गर्दिनँ, हिँड्दिनँ। तर नियमित रूपमा आफ्नो काम सकेसम्म गर्छु। बिहान ८ बजेपछि दिउँसो ३ बजेसम्म अहिले पनि प्रायः काम गरिरहेको हुन्छु।
नेपाली आधुनिक कलाबारे लैनसिंह बाङ्देलसँग सिकेपछि म कलामा पनि रमाउन थाले। विगत ३० वर्षदेखि चित्र बनाउँदै आएको छु। मन लागेको बेलामा चित्र बनाउँछु। अहिले म नेपाल कला परिषद्को महासचिव छु। समयअनुसर उमेर बढ्दै जान्छ तर हामीले जीवनलाई कसरी र कति सक्रिय राख्ने भन्ने त आफैंमा निर्भर हुन्छ नि।
साभारः
नानीबाबुसँग मनका कुरा
नानीबाबुसँग मनका कुरा
अन्नपुर्ण अनलाइन
अंकुर १२ असोज २०७६
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्