Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापानमा नेपालीहरुको मृत्युदर बढ्नुका कारण

ब्लुकलर बिदेशी कृषि कामदारः फोटो REUTERS जापानमा अहिले करिव करिव ९० हजार नेपालीहरु रहेको अनुमान गरिएको छ । तिनीहरु नेपालबाट विभिन्न ...

ब्लुकलर बिदेशी कृषि कामदारः फोटो REUTERS

जापानमा अहिले करिव करिव ९० हजार नेपालीहरु रहेको अनुमान गरिएको छ । तिनीहरु नेपालबाट विभिन्न भिसामा जापान आएका हुन्छन जस्तै कि कोही, अध्ययनका लागि विद्यार्थी भिसामा, कोही ओर्किङ भिसामा होटल रेष्टुरेन्टमा काम गर्न, कोही विभिन्न सेक्टरमा प्रशिक्षार्थीको रुपमा काम गर्न त कतिपय नेपालीहरु विजनेसको लागि आएका हुन्छन भने कतिपय डिपेन्डेन्ट भिसामा पनि आएका हुन्छ । अहिले कतिपय नेपालीहरु भिजिट भिसामा जापान छिर्ने र कतिपय लुकेर काम गर्ने त कतिपयले विभिन्न वहाना वनाएर शरणार्थीको रुपमा काम गर्ने गरेका छन । आखिरमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु जुन जुन रुपमा जापान आएपनि उहाँहरु नेपालमा गतिलो काम नपाएर गास, बास, र कपासको समस्याले विदेशिन बाध्य हुनुभएको हो भन्ने कुरामा कसैको दुईमत छैन ।
 
जापानमा जो होटल रेष्टुरेन्टमा काम गर्नको लागि आउनुभएको छ उहाँहरुका समस्या अलि ठूला खालका छन । जापानमा केही टाँठाबाठाहरुले कम्पनी बनाएर होटल रेष्टुरेन्ट खोल्ने, नेपालबाट कुकहरु ल्याउने, कुकहरु ल्याउँदा जनही १२/१५ लाख असुल्ने, जापान ल्याएर कतिपयले काम नदिने, कतिपयले काम दिएपनि १ सालपछि कामबाट निकाल्ने, पारिश्रमिक अत्यन्तै थोरै दिने, दिनमा १४ घण्टासम्म काममा लगाउने, ओभरटाइम काम गरेको पैसा नदिने, कतिपयले त हप्तामा एक दिन बिदा पनि नदिने, कमसल खालको खाना दिने, कचकच बढी गर्ने, तथानाम गाली गर्ने, कतिपयले हप्तामा आधा छुट्टी भनेर ४/५ बजेतिर छोडिदिने गरेका कैयौं उदाहरण छन । व्यवसायीहरुको यस्तो खालको घटीया कामले गर्दा अहिले जापानमा नेपालीहरुको मृत्युदर ह्वात्तै बढेर गएको छ । औषतमा २ महिनामा ३ जना नेपालीले जापानमा ज्यान गुमाउने गरेको पाईएको छ । यसरी नेपालीहरुको मृत्युदर बढ्नुको कारण के होला भन्ने सवालमा जिज्ञासा राख्दा जापान नेपाली एकता समाजका एकजना सदस्यले भने – "काममा व्यवसायीहरुले मानसिक यातना दिने, तल्लो दर्जाको खाना दिने, र कामदारको सालमा एक वा दुईपटक पनि मेडिकल चेकअप अर्थात स्वास्थ्य जाँच नगरिदिने गरेका कारण कैयौं नेपालीले जापानमा अकालमा वा अल्पायुमै ज्यान गुमाउनु परेको छ । जापानमा स्थापना भएका सयौं संघ संस्थाहरुले केवल मानव ढाल वनाएर पैसा कमाउने र रमाउने काम मात्र गरेका छन तर मानवले मानवको सेवा गर्नुपर्छ भन्ने कुरा उनीहरुले भुलेका छन । कामदार वा मानिस मरेपछि गर्ने सहयोग वा उद्धार भन्दा मर्नुपूर्व गर्ने सचेतना कार्यक्रम, शोषण दमनको विरुद्ध संघर्ष, अन्याय अत्याचारको विरुद्ध आवाज वुलन्द गर्नु, श्रमिकहरुले पाउने हक अधिकारका विषयमा बोल्नु जस्ता कार्यले मृत्यु दरलाई कम गर्न सकिन्छ ।"
 
जापानमा नाम र दाम कमाएका नेपाली संघ सस्थाहरु थुप्रै छन तर ति मध्ये अलि बढि नाम चलेका केही संस्थाहरुले नै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने भन्दा पनि आफूहरूलेनै समस्या पारिदिने र मरेपछि सहयोग गर्ने गरेको देखिन्छ । त्यसको उदाहरण उनीहरुले खोलेका होटल रेष्टुरेन्टमा पुगेर नेपाली कुक मजदुरहरुको अवस्था कति विकराल छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । कुनै पनि होटल रेष्टुरेन्टमा काम गर्दा गर्दै मरेको खण्डमा, ठूलै रोग लागेको खण्डमा, चोटपटक लागेको खण्डमा ती होटल रेष्टुरेन्टका मालिकहरुले क्षतिपूर्ती दिने गरेको वा मजदुरहरुको उपचार गर्ने गरेको पाइदैन बरु विभिन्न वहाना बनाएर विरामी वा कामदारलाई कम्पनीबाट निकाल्ने गरेका छन । यसरी बाहिर संघ संस्था खोलेर नेता बनिरहने र भित्र होटल रेष्टुरेन्ट खोलेर मजदुरहरुलाई चुसिरहने प्रवृति कहिले सम्म चलिरहने हो जापानमा ? यसको पर्दाफास कहिले गर्ने, कसले गर्ने ? विविसीका पत्रकार देखि रवी लामिछाने सम्म आएर गए । उनीहरु समक्ष कैयौं पीडित नेपालीहरुले खुलेआम समस्या राखे तर त्यसको केहि दिनमा जोजोले समस्या राखे उनीहरुको जागिर साहुहरुले खाइदिए । अहिले पनि जापान जस्तो देश जहाँ सेकेन्ड सेकेण्डको महत्व हुन्छ त्यहाँ नेपालीहरु ५\६ महिनादेखि कामबाट निकालिएका पुनःनयाँ काम नपाएर बसेको अवस्था छ । यही बेरोजगार बढेका कारण, अदक्ष, अनुभवहिन कामदार, अनुसाशनविहिन मानिसहरु बढेका कारण अहिले जापान सरकारले नेपाली कुकहरु र नेपाली विद्यार्थीको भिसा दिएको छैन ।
 
जापानमा छिरेका कतिपय नेपाली विद्यार्थीहरूका गलत क्रियाकलावका कारण, र उनीहरूको सोच्ने क्षमता र अन्यायका विरुद्ध आवाज उठाउन नसक्नुका कारणा उनीहरूले अकालमा ज्यान गुमाउने गरेका छन । त्यसैगरी विद्यार्थी जगत बाटनै बढीमात्रमा जापानी समाजका मुल्य र मान्यताहरुलाई नअपनाएको वा वेवास्ता गरेको आरोप लाग्ने गरेको छ । जस्ले गर्दा नेपालीहरुलाई जापानीहरूले बस्ने कोठासम्म नदिने गरेको पाइन्छ । कम्तीमा पनि ५० ठाउँमा फोन गर्दा एकाध ठाउँमा नेपालीलाई हुन्छ भन्छन तर त्यस्ता कोठाहरु उपयुक्त खालका हुँदैनन् । जापानीहरुले नेपालीहरुलाई झैं झगडा बढी गर्ने, होहल्ला गर्ने, चर्को फोनमा कुरा गर्ने, कोठा फोहोर गर्ने, सफा नगर्ने, शौचालय र बाथरुम सफा नगर्ने, फोहोरहरु सबै एकैठाउँमा पोकोपारेर फ्याकिदिने जस्ता गलत काम गरेका कारण कोठा नदिने गरेको पाईएको छ । यी नै गलत र कमजोर क्रियाकलापका कारण अन्यले हेप्ने गरेका हुन्छन भन्ने कुरा नेपालीहरूले कहिले बुझ्ने हो ? व्याक्तिगत आनीवानीहरुलाई तुरुन्त सुधार गर्दै जापानमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीहरु सबैले होटल मजदुरहरुमाथी भएको दमन, दास जस्तो व्यवहारका विरुद्ध एक भएर हातमा हात, काँधमा काध मिलाएर व्यवसायीहरुका गलत क्रियाकलावका विरुद्ध आवाज उठाउदै जापान सरकार तथा नेपाल सरकारलाई झकझकाउन सकेको खण्डमा पक्कै पनि नेपाली कुक मजदुरहरुले जापानमा मुक्ति पाउने छन तर अकालमा ज्यान फाल्ने छैनन् ।
साभारः
देवेन्द्र बस्याल
https://samudrapari.com/

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी